मंसिर मसान्तभित्र नसकिने भए पुस मसान्तभित्र त महाधिवेशन गर्नैपर्छः शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

शुक्रबार बिहान विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँगको भेटमा कोइरालाले फागुन २१ गते सरकारले प्रतिनिधिसभा निर्वाचन घोषणा गरेकाले त्यसअघि नै १५ औं महाधिवेशन गरेर जानुपर्ने बताएका हुन् ।

उनले १५औँ महाधिवेशन मंसिर मसान्तभित्र नसकिने भए पुस मसान्तभित्र गरिसक्नुपर्ने बताए । कोइरालाले पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने बताए ।

कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार, संयम भएर अघि बढ्नुपर्ने र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

कोइरालाले देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका सदस्यहरूले पार्टीलाई बचाइराखेको बताए । पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय पर्खिरहेका उनले बताए ।