काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरु एमालेमा फर्किन लागेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी श्रेष्ठले नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका हुन् ।
उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए । उनले भने, ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मूलघर एमालेमा फर्किन लागेका छौं । त्यसका लागि संवादमै छौं ।’
उनले एमालेमा आफूहरुलाई निःशर्त फर्किनका लागि वातावरण बनाइदिन आग्रह गरे । उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’ उनले चार वर्षअघि एमालेबाट बाहिरिने निर्णय गर्नु भुल भएको बताए ।
उनले एकीकृत समाजवादीबाट गएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित एकीकृत समाजवादीका १० मध्ये अध्यक्ष माधव नेपाल कारबाहीमा परेका र हाल रहेका ९ जना सांसदहरू मध्ये बहुमत आफूहरूको पक्षमा रहेको बताए।
उनले भने, ‘एकीकृत समाजवादीले ल्याएको २ लाख ९४ हजार भोट मध्ये २ लाख भोट हामीसँग छ ।’ श्रेष्ठले माओवादीसँग एकताको लागि माधव नेपालले अल्पमतमा पर्ने डरले ८८ जना केन्द्रीय सदस्य थपेको बताए ।
उनले एमालेमा फर्किनका लागि तयारी गरिरहेको बताए । उनले भने, ‘नेकपा एमालेमा जाने रहर छ, तर लिइदिनु पर्यो, होइन तिमीहरू आउनु पर्दैन, चाहिँदैन भन्नुभयो भने देखाजाएगा ।’

प्रतिक्रिया