३० वर्षदेखिको विसंगतिको जिम्मेवारी कांग्रेस, कम्युनिष्टले लिनुपर्छः सहायक महामन्त्री खड्का


चरिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले मुलुकमा विगत ३० वर्षदेखिको विसंगति र पराधिनताको जिम्मेवारी काग्रेस, कम्युनिष्टले लिनुपर्ने बताएका छन् ।

जिल्ला कार्यसमिति दोलखाको विस्तारित भेलालाई सम्वोधन गर्दै सहायक महामन्त्री खड्काले अहिलेको जेनजी आन्दोलनवाट उठेको जनतावाट निर्वाचित कार्यकारी प्रधानमन्त्री, सांसद, मन्त्री हुन नपाउने, मन्त्री विज्ञताबाट छानिनुपर्ने, भ्रष्टाचारीमाथि निर्मम कारबाही, प्रदेश संरचना खारेजी लगायतका तमाम मुद्दाको राप्रपा जननी भएको बताएका हुन् । उनले यही आन्दोलनको भावनालाई संस्थागत गर्दै बाँकी मुद्दाहरूको लागि राप्रपा लड्ने बताए ।

नेपाली युवाहरूको बलिदानीलाई हल्का ढङ्गले लिईएमा मुलुक गम्भीर दुर्घटनामा पर्ने भन्दै जेनजी आन्दोलनमा उठेको माग सम्बोधन गरिनुपर्ने बताए । उनले जेनजी आन्दोलनको भावनासँग कसैले खेल्ने दिवासप्ना नदेख्न चेतावनी दिए ।

राप्रपा संगठन निर्माणमा लागेको भन्दै अब राप्रपालाई युवामय बनाउने तथा अहिलेको सन्दर्भमा मुलुक हाँक्न सक्ने एकमात्र शक्ति राप्रपा रहेको बताए ।

कार्यक्रममा सहायक महामन्त्री तथा केन्द्रीय पर्यवेक्षण उदय सिँह मुस्याजु, सहायक प्रवक्ता प्रवीण थोकर, काभ्रे जिल्ला अध्यक्ष सहदेव भण्डारी, भाष्कर पाण्डे बलबहादुर तमाङ, शिव केसी, विनोद खड्का, नवराज खड्का ‘राजा भाइ’ मोहन लामा, गंगाबहादुर बस्नेत, केशव काफ्ले लगायतले सम्बोधन गरेका थिए । कार्यवाहक अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घोषण सचिव रामवहादुर तामाङले गरेका थिए।