-जलेश्वर सर्राफ
अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका व्यवसायीबाट नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन अर्बौं दान लिएर कानूनी राज्यको उपहास, स्वार्थको पराकाष्ठा नाघेको भन्दै चौतर्फी आलोचना तथा आफ्नै पार्टीका नेताहरुले गर्दै आईरहेका बिरोधका वावजूद पनि केपी ओली टसमस नहुँदा अहिले मीनबहादुरले दिएको जग्गामा बिरोधको जग बसेको यथार्थ सार्वजनिक भएको छ । उता आफूलाई भ्रष्टाचारविरोधी र आदर्शको भण्डार र इमान्दारितामा सगरमाथाको चुचुरो हुँ भनेर आफूलाई प्रस्तुत गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत तिनै व्यापारीबाट अनुचित आर्थिक लाभ लिएको रहस्य खुलेको छ।
राप्रपा अध्यक्ष लिङ्देन करिव दुई वर्षदेखि ललितपुरको लामाटारस्थित ग्रीन भ्याली होम्सको हाउजिङ कोलनीमा निःशुल्क बसोबास गर्दै आएको राप्रपाका एक नेताले दाबीसहित बताएका छन् ।
ग्रीन भ्याली होम्स अदालतमा मुद्दा खेपीरहेका मीनबहादुर गुरुङको स्वामित्वमा रहेको हाउजिङ हो भने सोही व्यापारीको प्रायोजनमा लिङ्देनलाई बस्ने घर उपलब्ध मीनबहादुर गुरुङले गराएका छन् । लिङ्देन हाल राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री समेत भएका प्रतिनिधिसभाका सदस्य हुन्। सांसद भएकै नाताले उनलाई जनताले तिरेको करबाट मासिक घरभाडा उपलब्ध गराइन्छ ।
नीति निर्माण गर्ने तहमा प्रतिनिधिसभा सदस्य, आर्थिक अनियमितता र भ्रष्टाचार छानविन तथा उक्त विषयमा निर्देशन दिने अधिकारसम्पन्न सार्वजनिक लेखा समितिका सदस्य समेत लिङ्देन रहेका छन् । उनी अहिले राष्ट्रिय पार्टीका अध्यक्ष हुन् र भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्दै उच्च आदर्शको कुरा समेत गर्ने गरेका गर्छन् ।
देश र जनताको हितमा बिना कुनै मोलाहिजा काम गर्ने शपथ खाएका सार्वजनिक व्यक्तिबाटै यस्तो अनुचित कार्य हुन्छ भन्ने देश र जनताले के आशा गर्ने भने प्रश्न चिन्ह समेत उठेको छ । लिङ्देनले व्यापारीमात्र हैन मुद्दा खेपिरहेका व्यापारीबाट आर्थिक लाभ समेत थापेका छन् जसलाई आमाको रगतमा डुबुल्की मारेर जनता तथा पार्टीका नेताहरू लगायत कार्यकर्ताहरुको समेत भावनालाई खेलवाड गर्ने पराकाष्ठा बराबर नै हो भन्दा इन्कार गर्ने अवस्था देखिदैन ।
एकातर्फ व्यापारीले दिएको घरमा बस्नु नै अनुचित छ भने अर्कोतर्फ सांसदको नाताले लिङ्देनले घरभाडा बुझिरहेका छन् भने प्रश्न चिन्ह समेत उठेको छ । त्यसकारण यसमा दोहोरी गल्ती तथा घोर अनियमितता भएको समेत देखिएको छ । लामाटार हाउजिङमा सर्नु भन्दा अगाडी लिङ्देन नखीपोटमा बस्थे र त्यहाँ पनि घरभाडा तिर्दैन थिए ? तैपनि सांसद सुविधाको मासिक घरभाडा लिइरहन्थे ।
राप्रपा सचिवालय सदस्य अनुसार, व्यापारी मीनबहादुर गुरुङसँग घर दिलाई माग्न अध्यक्ष लिङ्देनले गुरुङ थरका एक पदाधिकारी र गुरुङका ज्वाईँ केन्द्रीय सदस्यलाई परिचालन समेत गरेका थिए । स्मरण रहोस् एमालेलाई जग्गा दान दिने बेला व्यापारी गुरुङले अरु पार्टीलाई पनि सहयोग गरेको र गरिरहने बताएका थिए । आफूलाई भ्रष्टाचारविरोधी र आदर्शवादी बताउने लिङ्देनले समेत गुरुङको यो दावीलाई सार्वजनिक रुपमा प्रतिवाद गरेका छैनन्।
यो विषयमा रोचक प्रसङ्ग के छ भने शुक्रबार सम्पन्न प्रतिपक्षी दलहरुको बैठकले मुद्दा बिचाराधीन रहेका व्यवसायीबाट प्रधानमन्त्रीकै पार्टीले पार्टी कार्यालय बनाउन अर्बौं दान लिनु गलत हो भन्ने निष्कर्ष निकालेको थियो भने उक्त बैठकमा लिङ्देन आफैं सहभागी रहेका थिए ।
अब देश र जनताले लिङ्देनबाट धेरै आश गर्ने तथा उनको अनुयायी र शुभचिन्तकहरु उनको कामबाट अत्यन्तै निराश भएका छन् । लिङ्गदेनले एनसेल काण्डमा एकपटक त बोले तर, एकाएक ओझेल भएर गुमनाम बने, पछि ढोल पिट्दै पोखरा विमानस्थलको छानविन गरे त्यसपछि चुपचाप बसेका छन् ।
सहकारी काण्ड र गिरिबन्धु जग्गा प्रकरणमा लिङ्गदेन अहिले चुइक्क समेत बोलेका छैनन् । ‘भ्रष्टाचार निर्मूल गर्ने भन्छन् तर लिङ्देनको कथनी र करनीमा कदापि मेल देखिएको छैन । उनी महाधिवेशन पश्चात राप्रपाका अध्यक्ष बन्दा सुरुमा धेरै आश गरेपनि अहिले हामी निराश भएका र्छौं’, वीरगन्ज घर भएका र राप्रपाका युवा नेता समेत रहेका जलेशवर सरार्फ बताउँछन्।
हाल राप्रपाभित्रको आर्थिक पारदर्शीता पनि त्यस्तै छ ।
‘केन्द्रीय सदस्यहरुबाट मासिक २९ लाख रूपैयाँ लेबी उठ्छ, घरभाडा तिर्न पर्दैन, मासिक कर्मचारी प्रशासन खर्च भनेको ३ लाख हो, बाँकी रकम कहाँ जान्छ त्यसको कुनैपनि स्पष्ट लेखाजोखा छैन । ७७ जिल्लामा मासिक सहयोग दिने जिल्ला अध्यक्षहरुको भेलाको निर्णयअनुसार जिल्ला समितिलाई अध्यक्ष रकम दिन मान्दैनन्,’ एक केन्द्रीय सदस्य अंगद ठाकुर बताउँछन् ।
नेपाली कांग्रेस, एमाले,र माओवादी एक सिक्काका दुई पाटा हुन् र ती दलका नेताहरुबाट देशको मुहार फेरिन्छ भन्ने आशा राख्नु गोरुको मुन्तिर दुधको लागि बाल्टी थाप्नुसरह हो भनेर ठुला–ठुला आदर्शको कुरा गर्ने लिङ्देन अहिले आलोचनाका पात्र बनेका छन् ।
तर, समयसँगै लिङ्देन आफ्नै भनाइ अनुसारको ‘दुध दिने धर्म नभएको गोरु’मा रुपान्तरण भएकी भन्ने जनताको आलोचना काम र नतिजाले शान्त गर्ने जिम्मेदारी भने लिङ्देनमै आएको देखिन्छ अब हेरौं राप्रपा रुपी रामभरोसे हिन्दू होटलको दुरावास्था कहिलेसम्म र यो खेलको अन्त कहिलेसम्म हुन्छ भने पर्खाईमा आम कार्यकर्ता तथा नेपाली जनता रहेका छन् ।
यता पर्सा जिल्लाका खाटी कार्यकर्ताहरु समेत निराश भएका छन् । समानुपातिक कोटाबाट दाम चढाएर सांसद बनेकी बिना कुर्मीका ससुरा जगरनाथ प्र.कुर्मी तथा पार्टीका अध्यक्ष सुमेशवर उपाध्यायको मिलेमतोमा भइरहेको अनियमितता समेत उजागर गर्ने बेला भइरहेको छ । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेको स्लोगान उनी आफै माथी लागू गर्न नभ्याएको यथार्थलाई आमसर्वसाधारण र पार्टीका नेता तथा कार्यकर्ताहरु माथी कसरी लागू गर्न सक्छन्।
-लेखक राप्रपाका पर्सा जिल्ला नेता हुन् ।

प्रतिक्रिया