आरक्षपीडितहरूको समस्या समाधानका लागि गठन गरिएका आयोगहरूको सिफारिस तत्काल कार्यान्वयन गर्न माग


काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू गरी कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले गृहजिल्ला कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधानका लागि गठन गरिएका आयोगहरूको सिफारिस तत्काल लागू गर्न माग गरेका हुन् ।

उनले भने, ‘अहिले आरक्षपीडितहरू आमरण अनसन बसेको अवस्था छ । आरक्षपीडित समस्याले दशकौँदेखि जंगलमा बसोबास गरिरहेका पीडित र तिनका बालबालिकाको शिक्षा, स्वास्थ्यसमेत दृष्टिगत गरी आफैँले गठन गरेका आयोगका सिफारिस तत्काल लागू गरी सरकारले समस्या समाधान गरोस् ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षपीडितहरूको समस्या समाधानका लागि अहिलेसम्म राज्यले करोडौँ खर्च गरेर विभिन्न राजनीतिक, प्रशासनिक र अर्धन्यायिक आयोगहरू गठन गरिसकेको छ ।

उनले भने, ‘३४ आयोग बनिसकेका छन् । कराडौँ खर्च भइसकेको छ । सबै आयोगले लगभग सहमतिमा निर्णयहरू सिफारिस गर्ने गर्दछन् । आरक्षपीडित समस्या वास्तविक छ । जग्गा मुआब्जा आरक्ष विस्तार गरेका कारणले सुकुम्बासी भएका आरक्षपीडितहरूलाई उपलब्ध गराउनुपर्छ । जग्गा उपलब्ध गराउन नसकिए आर्थिक सहयोग पनि पु¥याउनपर्छ भनेर सबै आयोगले सिफारिस गरेका छन् ।’