काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको अन्तरविरोधलाई बाहिर नलैजान आग्रह गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रचण्डले उपमहासचिव शर्माले पार्टीभित्रको अन्तरविरोध बाहिर लगेकोमा असन्तुष्टि जनाएका हुन् ।
उनले सबै नेतालाई आन्तरिक विवाद बाहिर नलैजान आग्रह गरे । उनले भने, ‘जनार्दनजी मात्र होइन, अन्य नेताहरूले पनि आन्तरिक कुरा बाहिर लैजान बन्द गर्नुपर्छ । अन्तरविरोधलाई मिडियाले पनि उछाल्ने काम गरेका छन् । यसतर्फ सबै जना सचेत होऔँ ।’
बैठकमा प्रचण्डले स्वार्थ समूह विघटन गर्नुपर्ने प्रस्ताव गरेका थिए । बैठकमा प्रचण्डले अहिले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् । उनले संगठन सुदृढीकरणमार्फत पार्टीलाई बलियो बनाउने काममा लागेको बताए ।
उनले भने, ‘सरकारको काम कारबाहीबाट जनता पटक्कै सन्तुष्ट छैनन्, तैपनि अहिले हाम्रो ध्यान सरकारतिर छैन ।’ प्रचण्डले समाजवादी मोर्चालाई प्रभावकारी बनाउँदै लैजाने र वामपन्थी शक्तिहरूसँग सहकार्य अगाडि बढाउने समेत बताए । प्रचण्डले राखेको एजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्नेछन् । बैठक शनिबार बिहान ११ बजे बैठक बस्नेछ ।

प्रतिक्रिया