कोशी प्रदेशसभा बैठकद्वारा निवृत्तभरण कोष संचालन विधेयक स्वीकृत


विराटनगर । कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले स्वीकृत गरेको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेस गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयकमा सैद्धान्तिक छलफल पनि सुरु भई कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले धारणा राखेका थिए ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले विगत केही दिनदेखि आफ्ना विरुद्धमा सञ्चारमाध्यममा आइरहेका समाचार झुटो र कपोलकल्पित रहेको दाबी गरे ।

उनले भने,’मैले नखाएको विष मलाई कसरी लाग्छ, मेरो सचिवालयको कर्मचारीको ‘क्युआर कोड’मार्फत आफ्ना मातहतका कर्मचारीसँग रकम मागेको कुरा गलत हो ।’

उनले सञ्चारमाध्यममा आएको व्यक्तिको क्युआरकोडको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने धारणा राख्दै आफू कसैसँग पनि लेनदेन र घुस नलिएको दाबी गरे ।

प्रदेशसभाको बैठकको आजको शून्य समयमा प्रदेशसभाका सदस्य गोम्बु शेर्पा, गणेशप्रसाद उप्रेती, गोपालबहाुर बुढाथोकी, मीना श्रेष्ठ, कमला दर्नाल, होमबहादुर थापा, मैया श्रेष्ठ, सुनिताकुमारी गुरुङ र मानबहादुर लिम्बूले विभिन्न विषयमाथि धारणा राखेका थिए ।