मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताएका छन् ।

बिहीबार नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले बुझाएको अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन बुझ्दै उनले भने, ‘बहुजातीय, बहुभाषिक देशमा राज्यप्रति सबैको अपनत्व, संघीयताको प्रवद्र्धनका लागि मातृभाषामा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ । यो सम्मेलनले त्यसको भूमिकालाई उजागर गरेको छ ।’

उनले सम्मेलनको निष्कर्ष, उठान गरेका बहसलाई कानुन निर्माणमा, राज्यको व्यवहारमा कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

‘देशीविदेशी पत्रकारहरूको सहभागितामा तपाईँहरूले सम्पन्न गर्नुभएको सम्मेलनको आफ्नै महत्त्व र विशेषता छ । यसबाट आएको निष्कर्ष कार्यान्वयन गर्न पुरा सहयोग गर्ने छु’, उनले भने ।

पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० र ३१ गते ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा बंगलादेश, भारतका विभिन्न प्रान्त र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो । सम्मेलनले समावेशी पत्रकारिताको विकास, समग्र पत्रकारिताको विकासमा मातृभाषा पत्रकारिताको महत्व र आवश्यकतासम्बन्धी विविध निष्कर्ष निकालेको थियो ।