काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएका हुन् ।
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए । यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो ।
उनले भने, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निजी विषय पनि भएन । उहाँले सबै त्यागेर आइसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ । उहाँ आउनुहुन्छ भने उहाँलाई उचित स्थान दिनुपर्ला । त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहना हो । यो सार्वजनिक विषय हो यसलाई हल गर्नैपर्छ।’
जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।
विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटीको आकार घटाउने प्रस्ताव छ। वरिष्ठ उपाध्यक्ष नराख्ने, पदाधिकारी ११ मा सीमित गर्ने र केन्द्रीय कमिटीको आकार १९९ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया