काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार नेताले विधानको खुल्लम खुल्ला उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै विधान विपरीत भएका निर्णयहरु सच्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवल शम्सेर राणा र महामन्त्री कुन्ती शाहीले विज्ञप्ति जारी गरी पक्ष विपक्षमा नलागी पछिल्लो समय अप्रिय घटनाबाट सिर्जित समस्या समाधान गर्न र पार्टी एक ढिक्का राख्न देशभरीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनीहरुले पार्टी निर्णय बमोजिम सबै तहका अधिवेशन समयमै सम्पन्न गर्न पनि सबैलाई आग्रह गरेका छन् । विज्ञप्तिमा शीर्ष नेतृत्व तहमा भएको सहमति लत्याउँदै नेता नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरिएको उल्लेख छ ।
त्यस्तै नेता सुवेदी मात्र नभएर, प्राकृतिक न्यायको सर्वमान्य सिद्धान्त मिच्दै स्पष्टीकरणसम्म नसोधी भारतमा क्यान्सरको उपचार गरिरहेको बखत महामन्त्री डा. धवल शम्सेर राणालाई संगठन विभागको प्रमुखबाट, सगुन सुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको उल्लेख छ ।
संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य लगायतका लक्ष्य प्राप्त गर्न निष्ठापूर्वक क्रियाशील नेताहरुलाई यसरी श्रृंखलावद्ध रुपमा एकलौटी कारवाही भएबाट पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरु उब्जिएका विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया