विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रूत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग र सदस्यहरूमा आह्वान गरेका हुन् ।

विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ ।

‘मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो ।’

विपद् पूर्वको तयारी र विपद् पश्चातको प्रतिकार्यका लागि ध्यान केन्द्रित गर्न अनुरोध छ ।