काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा सिंहले कांग्रेसको संगठनलाई बलियो बनाए मात्रै हालसम्मका संघर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताएका हुन् ।
‘पार्टीको संगठन राम्रो बनाउनेमा लाग्नुपर्छ । कांग्रेस ‘वेल मेनेज’ भयो भने प्राप्त उपलब्धीहरू, अधिकारहरू विस्तारै संस्थागत हुन्छन् । एकले अर्काेको दोष देख्ने प्रवृत्तिले संगठन बलियो हुँदैन,’ उनले भने ।
त्यस्तै उनले कांग्रेसको मूल नीतिमा रहेर समयअनुसार पार्टीको रणनीति बनाउनुपर्ने पनि धारणा राखे । कांग्रेस नेता सिंहले पार्टीको महाधिवेशनको मिति नजिक आइसकेको भन्दै महाधिवेशनका लागि आवश्यक जे प्रकियाहरू छन् ती छिटै पूरा गर्नुपर्ने बताए ।
सिंहले सरकारको कामकारबाही, बजेटलगायतका विषयमा पनि प्रष्ट पारेका थिए । त्यसक्रममा उनले सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेको भन्दै आफूले सम्हालेको मन्त्रालयबाट भएका नीतिगत र विकासका कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।
उनले भने, ‘जनताको चाहना पूरा गर्न राजनीति स्थिरता जरूरी छ । राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासको जनचाहना पूरा हुन सम्भव नै छैन । हाम्रो सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेको छ । त्यसलाई नै अगाडि बढाउनुपर्छ ।’

प्रतिक्रिया