निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन देखापरेका चुनौतीहरूको समाधान गर्न निर्वाचन पद्धति र प्रणालीबारे गम्भीर विवेचना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

संविधानविद् वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन’ पुस्तकको शनिबार सार्वजनिकीकरण गर्दै उहाँले शासन प्रणालीमा आएका समस्या तथा निर्वाचन प्रणालीका चुनौतीका विषयमा बृहत् छलफल गर्नुपर्ने समय आएको बताए ।

“निर्वाचन प्रणालीका दोष हुन कि निर्वाचन आचारसंहितासँग गाँसिएका विषयहरू, यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको समस्या हो कि?”, सभामुख घिमिरेले प्रश्न गर्दै भने, “निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छ । निर्वाचनलाई निष्पक्ष, पारदर्शी बनाउने, सबैको उचित सहभागिता बनाउने र त्यसबाट बनेका जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट काम गर्ने विधि के हुन सक्छ, छलफल हुनुपर्छ ।”

उनले कार्यान्वयन गर्ने तहमा इमान्दारिताको समस्या वा प्रणालीमा समस्या केहो भन्नेमा बहस हुनुपर्ने आवश्यकता औँल्याए । सरकारले स्थायित्व प्राप्त गर्न नसक्ने, सङ्घीय संसद्को प्रभावकारी भूमिका निर्वाह र सरकारलाई निर्दिष्ट गर्न आइरहेका समस्या व्यवहार वा नीतिगत के हुन् भन्नेबारे छलफलका लागि सभामुख घिमिरेले बुद्धिजीवी सबैलाई आह्वान गर्नुभयो । “आचार विचार र पद्धतिका समस्या हुन् कि संविधानको व्यवस्था वा निर्वाचन प्रणालीको समस्या हो, त्यसमा गहिरो विवेचना गर्न जरुरी छ”, उनले भने ।

पैरवी बुक हाउस प्रालिद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले पुस्तक सार्वजनिकीकरण गर्दै भविष्यमा अपनाउनुपर्ने निर्वाचन प्रणालीबारे सबै निकाय र तहमा बहस हुनुपर्नेमा जोड दिनुभयो । उक्त पुस्तक पैरवी बुक हाउसले प्रकाशनमा ल्याएको हो ।