काठमाडौं । नवराज सुवेदी संयोजकत्वको संयुक्त जनआन्दोलन समितिले आस्थाका बन्दी विनाशर्त रिहाइ गर्न माग गरेको छ ।
आइतबार सुवेदीले विज्ञप्ति जारी गरी संयुक्त जनआन्दोलन समितिका सदस्य तथा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान प्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता, फरक मत राख्ने नैसर्गिक अधिकार प्रजातन्त्रको सौन्दर्य हो, विश्वव्यापी रुपमा स्थापित मानव अधिकार हो । तथापि राष्ट्र राष्ट्रियता र धर्म संस्कृतिको रक्षार्थ क्रियाशील व्यक्तित्व बस्नेतलाई सरकारले संयुक्त जनआन्दोलन समितिको वैठकस्थल नवदुर्गा पार्टी प्यालेसबाट गैरजिम्मेवार रुपमा पक्राउ गरेको छ ।मानव अधिकार र प्रजातान्त्रिक अधिकार हनन् गर्ने सरकारको यस कदमको हामी घोर निन्दा गर्दछौं । तीनकुने गोलीकाण्डमा बस्नेतको कुनै संलग्नता छैन, तै पनि शान्तिकामी नागरिकलाई यसरी आतङ्कित तुल्याउने कार्य सरकारले छोडेको छैन ।यस घडीमा उहाँ लगायत सबै आस्थाका बन्दीहरुलाई तत्काल रिहाइका लागि हामी जोडदार माग गर्दछौं ।’


प्रतिक्रिया