ओली र मोदीबीच द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं सम्मेलन सकिएपछि शुक्रबार बैंककमा उनीहरूबीच ’साइडलाइन’ भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
भेटमा द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा आउन पुन : आग्रह गरेका छन्
। यस अगाडि पनि परराष्ट्रमन्त्री आरजु राणा राइसिना डायलगमा सहभागी हुन गत चैतमा नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिएर आएकी थिइन् ।
भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई सहभागी थिए । मंगलबार बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले बुधबार थाइल्याण्डकी समकक्षी पे थोङ थान् शिनावातसँग औपचारिक भेटवार्ता गरेका थिए।