लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको छः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् ।
राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ पुस्तक सोमबार उनलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन् । उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे ।
मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो ।
पुस्तक अवलोकनपछि उनले भने, ‘यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।’
त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए ।