सरकार उल्टो बाटो हिँड्योः अध्यक्ष केसी
काठमाडौं । राष्ट्रि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले पूर्वविशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेकोप्रति आपत्ति जनाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा केसीले मुलुकको कमजोर आर्थिक अवस्था हुँदाहुँदै यसरी सेवा सुविधा थप गर्नु उपयुक्त नभएको भन्दै सरकारलाई यसमा गम्भीर भएर सोच्न आग्रह गरेका हुन् ।
व्यवस्थामाथि नै आक्रोश बढिरहेका बेला यस्ता काम नगर्न उनले सरकारलाई आग्रह गरे । उनले भने, ‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौं बेरोजगार नेपाली विदेशको गल्ली भौतारिँदा यस्तो बेला सरकारले पूर्वविशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेको छ । यो के गरेको ? स्याल बौलायो भने सहरतिर पस्छ भन्ने उखान छ, त्यस्तै भयो । यसमा सरकार गम्भीर होस् ।’