रविलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश
चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारीको ठगी मुद्दामा बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । ठगी मुद्दा दर्ता भएपछि बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए ।
उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो । यसअघि कास्की, काठमाडौं र रुपन्देही अदालतले पनि उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।