लोसपाद्वारा विभिन्न पार्टीसँग वार्ताका लागि समिति गठन
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रीत राजनीतिक पार्टीबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा मिल्नेसँग पार्टी एकीकरणका लागि समिति गठन गरिएको जानकारी गराएका हुन् ।
समितिमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिको लागि सङ्घर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य एवं कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले ठहर गरेको छ ।