देशलाई सही मार्गमा ल्याउन अब नयाँ निकास आवश्यकः राप्रपा पूर्वअध्यक्ष लोहनी
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तासीन पार्टीहरूको अकर्मण्यता र दुष्कर्मका कारण देश भ्रष्टाचारको दलदलमा फसेको भन्दै देशलाई सही मार्गमा ल्याउन अब नयाँ निकास आवश्यक रहेको बताएका छन् ।
सोमबार राप्रपा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नुवाकोटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लोहनीले यस्तो बताएका हुन् ।
सत्ताको दुरुपयोग गरेर देशलाई भ्रष्टाचारको अखडा बनाएको, युवाहरूलाई विदेश पठाएर ठूला दलहरुले कमाई खाने भाँडो बनाएको भन्दै राप्रपा पूर्वअध्यक्ष चिन्ता व्यक्त गरे ।
अधिवेशनले प्रकाश गुरुङको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
राप्रपाका सहमहामन्त्री झनक प्याकुरेल, केन्द्रीय सदस्यहरू भरत प्रसाद पाठक, जनकपाठकले अधिवेशनलाई सम्बोधन गर्दै सडक संघर्षबाट देशलाई निकास दिनुपर्ने बताए ।
युवा संगठनका सदस्य सचिव निराजन वमले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मुलुकमा देखिएको सबै राजनीतिक विकृति र विंसगतिको विरुद्ध आन्दोलनमा उत्रने वताए ।
पार्टीले घोषणा गरेको निर्णायक आन्दोलनको लागि युवाहरू तयारी रहनु पर्ने उनले बताए ।
युवा संगठनका निवर्तमान अध्यक्ष फणिराज (राजु) लोहनीले युवा भनेको परिवर्तनको पक्षधर शक्ति रहेको बताउँदै युवाहरू अघिल्लो मोर्चामा रहेर राष्ट्रियताको आन्दोलनमा होमिने बताए ।
नवनिर्वाचित अध्यक्ष प्रकाश गुरुङले जिल्लाको ८८ वटा वडामै संगठन विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।