देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छः उपाध्यक्ष ज्ञवाली
देउखुरी । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २, दाङले सोमबार घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने बताए । उनले जनताको बहुदलीय जनवाद (जबज) को सार समाजको रुपान्तरण भएको उल्लेख गरे ।
आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उनले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पारे ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताए ।
उनले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताए । उनले भने, “पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।”