सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा


वीरगञ्ज । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । बुधबार पर्सामा कांग्रेस कार्यालयको समुद्घाटन गर्दै उनले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थारु र मुस्लिमलगायत सबै समुदाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘सबै जातजाति, धर्म, संस्कृतिलाई मिलाएर अघि बढ्नु आजको आवश्यकता हो’, सभापति देउवाले भने, ‘यो कामका लागि नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्दछ । मलाई विश्वास छ । यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेछौँ ।’

कांग्रेसका सभापति देउवाले फरक प्रसङ्गमा पर्सा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध निकै गहिरो रहेको स्मरण गरे ।

‘पर्सा जिल्ला एउटा यस्तो ऐतिहासिक जिल्ला हो । विसं २००७ को क्रान्ति यही ठाउँबाट सुरु भएको हो । थिरबम मल्ल सहिद भएको पनि पर्सा जिल्लामा नै हो’, उनले भने, ‘वास्तवमा भन्ने हो भने म सुदूरपश्चिमबाट काठमाडौँ आउँदाखेरी यही जिल्ला हुँदै आएको पनि छु । सुदूरपश्चिमबाट भारतीय रेल चढेर सुगौली हुँदै पर्सा आइपुगेको थिए । पर्सा जिल्लाबाट फेरि बस चढेर काठमाडौँ गएको व्यक्ति पनि हुँ ।’

कांग्रेस सभापति देउवाले विद्यार्थी सङ्घको अधिवेशन गराउन पर्सा आउँदाखेरी यहाँको जेलमासमेत बस्नुपरेको स्मरण गरे ।

‘नेपाल विद्यार्थी सङ्घको अधिवेशन गराउन आउँदा जेलसमेत परेको थिए । यो जिल्ला मेरा निम्ति पनि निकै महत्त्वपूर्ण छ । यो जिल्लाको विकास र समृद्धिको लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढ्नुहोला’, उनले भने, ‘यो जिल्लाको विकास र समृद्धिका लागि मेरोतर्फबाट गर्न सकिने सबै खालका सहयोग गर्न तयार छु ।’

कांग्रेस सभापति देउवाले पर्साका स्वर्गीय आत्मराज ओझा र दुखा सहनीको धेरै ठूलो त्याग र तपस्या रहेको पनि स्मरण गरे । ‘उहाँहरुको योगदान र तपस्या निकै ठूलो छ । उहाँहरूकै स्मृतिमा भवन निर्माण गर्नु पक्कै पनि राम्रो कार्य हो,’ उनले भने ।

कांग्रेस सभापति देउवाले विगतको तुलनामा अहिले सडक र बाटाघाटाको निर्माणमा कनेक्टिभिटिमा पनि सहज भएको बताए ।

‘नेपालमा यातायातको साधनको पहुँच वृद्धि भएसँगै एउटा जिल्लाबाट अर्काे जिल्ला मात्रै नभएर एउटा क्षेत्रबाट अर्काे क्षेत्रमा पनि जान पनि सहज भएको छ’, उनले भने, ‘पहिला जस्तो सीमित सडक छैन । अहिले यहाँबाटै पूर्वमा झापा र सुदूरपश्चिमको महेन्द्रनगरसमेत जान सकिने अवस्था भइसकेको छ ।’

नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका वडा नं २४ मा निर्माण गरेको आत्मराम ओझा, दुख सहनी स्मृति भवनको उद्घाटन गरिएको हो । सोही भवनमा पार्टी कार्यालय सञ्चालन गरिनेछ । नेपाली कांग्रेस पर्साकाअनुसार सो भवन एक करोड २९ लाख लागतमा निर्माण गरिएको हो ।