कुइनो हानाहान, छिर्के लडाउने प्रतिस्पर्धा होइन: प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा नेपालले आफ्नो दृष्टिकोण स्पष्टसँग राख्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानन्त्रीले जलवायु परिवर्तन, वातावरणको संरक्षणलगायतका विषयमा नेपालको आफ्नो धारणा स्पष्टसँग राख्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा गर्नुभएको सम्बोधनको पूर्ण विवरण
सम्माननीय सभामुख महोदय,
आज म विशेष प्रयोजनका लागि यस ‘रोष्टम’मा उभिएको छुु । खासगरी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनका लागि नेपालको प्रतिनिधित्व गर्दै म असोज ४ गते त्यसतर्फ प्रस्थान गर्दैछु । आज त्यस कुराको जानकारी दिन र अलिकति संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रस्तुतिका सम्बन्धमा केही कुराहरु राख्न यहाँ उभिएको छु ।

यद्यपि आज उठेका कुराहरु थुप्रै छन्, जसका बारेमा मैले आफ्ना दृष्टिकोणहरु प्रस्तुत गर्नैैपर्छ कुनै समय, तर आज म प्रस्तुत गर्दिनँ । किनभने आज बेग्लै सन्दर्भमा म यहाँ उभिएको छुु । यतिबेला म देशभरि विभिन्न ठाउँमा केही समययता भएका प्राकृतिक विपत्तिका घटना र दुर्घटनामा जीवन गुमाउने, अङ्गभङ्ग हुने, धनजनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्न चाहन्छु । दिवङ्गतहरुप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छुु, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छुु । र, घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने कुरा पनि स्पष्ट पार्न चाहन्छु । यो सरकारले गर्ने नै गरेको छ, फेरि पनि हामी गर्छौं ।

यसै प्रसङ्गमा मैले प्राकृतिक विपत्ति पनि होइन, पाँचथरमा दुुईजना बालबालिकाको निधन भयो । अहिले त्यति भनौँ । कसरी निधन भयो भन्ने अब पछि कुरा गरौँला । बम विस्फोटबाट भन्न हुने हो कि नहुने हो ! यहाँ त अन्योल भइराखेको छ । तर बम विस्फोटबाट दुुई बालबालिकाको मृत्युु भयो । म दुःख व्यक्त गर्न चाहन्छुु । उहाँका परिवारजनलाई सरकारले  पाँच–पाँच लाखका दरले क्षतिपूर्ति दिने र दुुईजना अरू घाइते छन्, उनीहरुको उपचारको जिम्मा सरकारले लिनेछ । त्यो पनि म यस गरिमामय सभालाई सम्माननीय सभामुखमार्फत जानकारी गराउन चाहन्छु ।

मैले अघि नै भनेँ, थुप्रै विषय भए पनि आज म धेरै विषयहरुमा जान चाहन्न । धेरै विषयमा म आज बोल्न चाहन्न । मैले अघि नै प्रारम्भ गरिसकेको थिएँ कि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संविधान तथा राष्ट्रिय दिवसको भोलिपल्टै ४ गते म संयुक्त राष्ट्रसङ्घको हेडक्वाटरतर्फ प्रस्थान गर्दैछु ।

म यस गरिमामय संसद्लाई सम्माननीय सभामुखज्यूमार्फत स्पष्ट गर्न चाहन्छुु, नेपालका आफ्ना नीति छन्, आफ्ना दृष्टिकोण छन्, आफ्ना अडानहरु छन् । आफ्ना समस्याहरु छन्, आफ्ना उपलब्धिहरु छन् । र, ती हाम्रा समस्याहरु, हामीले प्राप्त गरेका उपलब्धिहरु अगाडि बढ्नुपर्ने हाम्रा अभिभाराहरु छन् । ती कसरी पूरा गर्न सकिन्छ वा कसरी पूरा गर्ने भन्ने कुरा, हामी यस सन्दर्भमा के प्रयास गरिरहेका छौँ, त्यो कुरा विश्वलाई जानकारी गराउने कुरा र हाम्रा मात्रै प्रयासले नहुने ठाउँमा हामी बाह्य जगत्सँग कसरी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ भन्ने कुराहरु समेतमा आफ्ना दृष्टिकोणहरु नेपालका तर्फबाट मैले प्रस्तुत गर्नेछु।

हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हामी आफैँले बनाएको संविधान र संविधानका विभिन्न पक्षको सङ्क्षिप्त र नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता यी सबै कुृराहरुलाई म त्यहाँ स्पष्टताका साथ राख्नेछुु । नेपाल एउटा सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्र हो । यसले आफ्नो राष्ट्रिय गौरवलाई अझ माथि उठाउनेछ र आफ्ना जायज राष्ट्रिय हितहरु, न्यायोचित राष्ट्रिय हितहरु र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवद्र्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता गरेको छ । नेपाल असल छिमेकीका रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । असल छिमेकीका रुपमा, छिमेकीको अहित चिताउने छिमेकीका रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीका रुपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरुबाट पनि चाहन्छ ।

नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्ने हो भने–छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता । यो नीतिबाट नेपाल निर्देशित छ, ‘गाइडेट’ छ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु र आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ । त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसङ्घमा राख्नेछौँ ।

यहाँका केही आन्तरिक प्रवृत्तिहरु होलान् । थुप्रै साथीहरुले आन्तरिक प्रवृत्तिका बारेमा उठाउनुुभएको छ । हाम्रो संसद्को गरिमालाई कमजोर बनाउने खालका भाषा, शैली, उत्तेजना वा व्यवहारजस्ता विषयहरुलाई त्यहाँ लगेर छरिने छैन । त्यहाँ राष्ट्रका विषयहरु, राष्ट्रका कुराहरु, राष्ट्रका समस्याहरु, राष्ट्रका चुनौतीहरु, राष्ट्रका अवसरहरु यसमा केन्द्रित भएर छलफल गरिनेछ ।

यसपटक सामान्य सम्बोधन गर्नेजस्तो विषय मात्रै होइन । विभिन्न विषयमा केन्द्रित भएर संयुक्त राष्ट्रसङ्घको महासभाले नै छलफलको आयोजनाहरु गरेको छ । ‘फ्युचर समिट’ भनेर आयोजना हुँदैछ । फ्युचर समिट भनेको मानव जातिको र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने, यसका निम्ति हाम्रा बालबालिका, हाम्रो वातावरण आदिका पक्षहरुलाई कसरी गम्भीरताका साथ लिने र सहकार्य गरेर आजको विश्व अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुनेछ । म त्यहाँ राम्ररी नेपालको दृष्टिकोणहरु प्रस्तुत गर्नेछु । त्यसै गरेर ‘स्मल आइल्यान्ड कन्ट्री’, समुन्द्रको सतह बढेको विषयलगायतका कुराहरुको छलफल हुनेछ । हामी वातावरणीय विषयमा यसको सन्दर्भमा सबैभन्दा पहिले त हिमाल र समुन्द्रको ‘इकोसिस्टम’का बारेमा त्यहाँ नेपालको दृष्टिकोण पनि प्रस्तुत गर्नेछौँ । इकोसिस्टम र समुन्द्रको सतह बढ्नाका पछाडि हिमालको हिउँ पग्लनु कारण रहेको छ । हिमालबाट हिउँ पग्लिएर हिमालमा हिउँ नअडिएको हुनाले अत्यधिक मात्रामा गएपछि, यो सानो मात्रामा जाँदैन, विशाल नदीहरु हिउँ पग्लिएर अनवरत गइरहेका छन् र एउटा नियमित चक्रमा मात्रै होइन, बढी गइरहेका छन् । जति हिमालले हिउँ बोक्नुु पर्दथ्यो, त्यति नबोकिरहेको छ । त्यस्तो किन भएको छ, त्यसका कारणमा जानुुपर्दछ । समुन्द्रको पानी प्रदूषित हुने कुरा र वायुुमण्डलमा आएको प्रदूषणदेखि लिएर ‘एसिड र सल्टिसिड’हरु हिमालसँग ठोकिन जानेदेखि लिएर यसले पारेको प्रतिकूल असरजस्ता कुराहरुमा हामीले विश्वको ध्यानाकर्षण गराउनुुपर्नेछ । र ‘क्लाइमेटको इस्यूसँग हाम्रा हिमालयको सम्बन्ध के छ र हाम्रो हिमाललाई, हाम्रो हिमाल भनेको हाम्रो मात्रै हिमाल होइन, हाम्रो भूगोलमा अवस्थित छ आमरुपमा । तर यो यसको मात्रै होइन, ‘ग्लोबल कन्सर्न’को समस्या हो ।

जब हामी ‘पिपुल र प्लानेट’को कुरा गर्छौं । आज ध्यान दिनुुपर्ने विषय भनेको दुुईवटा विषय हुन्–पिपुल एन्ड प्लानेट । ‘इन्भाइरोनमेन्ट’को कुरा गरौँ, ‘पोभर्टी एलिभिएसन’को कुरा गरौँ वा अरू जुनसुकै कुरा गरौँ, जेसुकै कुरा गरे पनि–पिपुल एन्ड प्लानेट । प्लानेटको फ्युचर हाम्रो ‘फ्युचर जेनेरेसन’ र आजको चिल्डे«न र भोलिका बालबालिकासमेतको ‘सेक्योर’ कसरी गर्ने ? यी सबै विषयहरुमा छलफल हुँदैछ ।

आज दुनियाँले भोगिरहेको र नेपालले पनि बहुतै ‘सिरियस्ल्ली’ भोगिरहेको ‘ड्रग’को समस्या, यस विषयमा पनि संयुक्त राष्ट्रसङ्घले यसपटक एउटा ‘सेग्मेन्ट’ राखेको छ, एउटा छलफलको विषय राखेको छ । तत्सम्बन्धमा हामीले पनि गम्भीर रुपमा ध्यानाकर्षण गर्नुपर्नेछ । यसमा हाम्रो देशभित्र भइरहेका छलफल र अलिक चर्को गरी उठ्न र उठाउन खोजिएका विषयहरु त्यसका बारेमा म अहिले जान चाहन्नँ । कति मात्रै भन्न चाहन्छुु भने ड्रगजस्ता कुराहरु, लागुपदार्थजस्ता कुराहरु यसले मानव जातिको भविष्यलाई खतरामा पार्छ । यस्ता विषयमा हामी सजग हुनुपर्दछ र हामीले आफ्नो दृष्टिकोण र ड्रग्स नियन्त्रणसम्बन्धी र त्यसको प्रयोगलाई समाप्त पार्ने दिशामा नेपालको योगदान, ड्रग्सको कारोबारलाई अन्त्य गर्ने सम्बन्धमा, ड्रग्सको भूमिकालाई अन्त्य गर्ने सम्बन्धमा नेपालको दृष्टिकोण पनि मैले त्यहाँ प्रस्तुत गर्नेछुु । यस्ता विविध गम्भीर विषयहरु दुनियाँले भोगिरहेको र हामीले पनि भोगिरहेका विषयहरु, जसले हामीलाई ‘अलार्म’ बजाइरहेका छन् । खतरनाक भविष्यको सङ्केत गरिरहेका छन् । त्यस्ता विषयहरुका बारेमा पनि मैले त्यहाँ बोल्नेछु । साथै, यसपटक मैले न्युुयोर्कस्थित धेरै विद्वानहरु जन्माएको र झन्डै तीन सय वर्ष पुुग्न लागेको इतिहास भएको विश्वविद्यालय न्युुयोर्कस्थित ‘कोलम्बिया विश्वविद्यालय’मा एउटा सम्बोधन पनि गर्नेछु । त्यसै गरेर बोस्टर्नमा अवस्थित ’हार्वड विश्वविद्यालय’मा पनि एउटा सम्बोधन गर्नेछु । प्राज्ञिक क्षेत्रबाट विश्वको ध्यान नेपाल र नेपालीको दृष्टिकोणहरु, नेपालको अवस्था र नेपाल जान खोजेको कुरा बताउनेछु । नेपाल डेमोक्रेसीका लागि लडेर आएको छ । ‘पोलिटिकल पार्टी सिस्टम’, प्रतिस्पर्धात्मक ‘डेमोक्रेटिक सिस्टम’ हामीले रोजेर ल्याएका हौँ । मैले पहिले पनि भन्ने गरेको छुु र यसै रोष्टमबाट पनि भन्ने गरेको छुु–प्रतिस्पर्धा स्वस्थ हुनुपर्दछ । प्रतिस्पर्धा भनेको झुटो कुराको बखान होइन । झुटा आरोप, लाञ्छना प्रतिस्पर्धा होइन । कुइनो हानाहान, छिर्के लडाउने प्रतिस्पर्धा होइन । प्रतिस्पर्धा दौडनु हो ।

हामी स्वतन्त्रताका हकहरुको पक्षमा छौँ । वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता तर सामाजिक मर्यादाका प्रबन्धहरु हामी मान्छौँ । हामी ‘एनिमल’ मात्रै होइनौँ, हामी सचेत जीव हौँ । हामीले समाज विकास गरेका छौँ, समाजले थिति र मूल्यमान्यता विकास गरेको छ । हामी ती मूल्यमान्यता, हाम्रा सुन्दर संस्कृति, र परम्पराहरुलाई भत्काउन सक्दैनौँ । यहाँभित्रका बेठीक र अनुपयुक्त भइसकेका पक्षहरुलाई हटाउनु पर्दछ र ठीक कुराहरुलाई जगेर्ना गर्दै अगाडि बढ्नु पर्दछ । ‘एनार्किज्म र डेमोक्रेसी’ यी कुराहरुलाई हामीले छुट्याउन सक्नुुपर्दछ । अराजकता डेमोक्रेसी होइन । मैले २०१९ मा ‘डाभोस इकोनोमिक समिट’मा जाँदा त्यहाँ पनि ‘साइडलाइन’को एउटा भेटघाटमा सायद न्युयोर्क टाइम्सका पत्रकारले सोध्नुभएको थियो कि प्रेस स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, वाक् स्वतन्त्रता, अभिव्यक्ति स्वन्त्रता आदिका बारेमा, मैले त्यस बेला त्यही भनेको थिएँ–पत्रकारिता स्वतन्त्र छ तर पीत पत्रकारिता, झुटो पत्रकारिता, समाजमा बेठीक कुराहरु फैलाउने पत्रकारितााई हामीले अलिकति सोध्नैपर्छ, सोधिखोजी गर्नै पर्छ । झुटा कुराहरुको खेती गरेर समाजको सम्बन्ध बिगार्ने, मान्छेहरुका परिवार बिगार्ने, पारिवारिक सम्बन्ध बिगार्ने, साथीहरुका सम्बन्ध बिगार्ने आदि कुराहरु, अरूका कुराहरु अनावश्यक व्यक्तिगत ‘इस्यु’हरुलाई पनि खोजेर उछालेर नभएका कुराहरु पनि जोडिजोडीकन दिने प्रकारका क्रियाकलापहरु उचित हुँदैनन् ।

सम्मानित सदन र माननीय सदस्यहरु सबैलाई म सभामुखमार्फत भन्न चाहन्छुु, उठ्दै नउठेका कुराहरुमा प्रस्ताव नै नआएको कुरामा छलफल कसरी चलेको हो, त्यो मैले बुुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठान नै नगरेका विषयमा उत्पात्तै ! म त हेरिराखेको थिएँ, के भएको होला ! उठाएकै छैन । त्यो विषयमा कसैले के भनेर छलफल गर्यो  भने त्यो छलफल संसद्मा आएर भएको पनि होइन, कहीँ कसैले कुरा गरे अरे भनेको सुन्दाखेरि के कुरा गरेका थियौं, किन यस्तो कुरा गर्यौं, ए बाबा ! त्यो कस्तो हो ? संसद्मा कुरा उठ्छ, के विषयमा भनेर मान्छेले छलफलमा यस्सो बोल्न पनि के रहेछ भनेर सोध्न पनि नपाउने ? अनि ‘एथ्निसिटी’का कुरा, ‘जेन्डर’का कुरा आदि अनेक कुराहरु उछालेर गालीगलौजका भाषाहरु ! साथीहरु थुप्रैले राखिसक्नुभएको छ, बोलौं ठीक छ । आलोचना गरौँ । तर भाषाको सीमा हुन्छ होला । हामी सभ्य नेपाली समाजमा छानिएका सभ्य प्रतिनिधि हौँ । हाम्रा क्रियाकलाप र बोली व्यवहारमा समाजले एउटा नमूना प्रतिबिम्बको अपेक्षा खोज्ला । आफ्नो सभ्यताको, शिष्टताको, मर्यादाको प्रतिबिम्ब सांसदहरुबाट आयो भन्ने जनताले ठान्नुपर्ला । त्यसो भएर म अहिले त्यता धेरै नजाऔँ ।

म संयुक्त राष्ट्रसङ्घमा जाँदैछुु र म ढुक्क रहन माननीयजीहरुलाई भन्न चाहन्छुु, फर्किएर आएपछि फेरि मैले सदनको बैठकमा के गरेँ, कसो गरेँ भन्नेछु । मेरा सबै वक्तव्यहरु सबै मिडियामा आइसकेको हुन्छ, कुनै गोप्य हुँदैन । त्यसमाथि पनि मैले यस गरिमामय सदनलाई रिपोर्टिङ गर्नेछु कि मैले यो यो चीज गरेर आए, यो यो कुरा बोलेर आए, यसमा प्रकाश पारेर आए, यस्तो गरेर आए भनेर भन्नेछुु । म नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिनँ । एकजना माननीयजीले अघि उठाउनुुभएको थियो कि हामीले गर्ने राजनीति भनेको देश र जनताका लागि हो । आजका लागि हो, आजभन्दा बढी भोलिका लागि हो । त्यसो भएर हामी जुन घरको जग राख्छौँ, जग राख्ने बित्तिकै बस्न पाइँदैन । जहाँ शिलान्यास गर्छौं, त्यहाँ बस्न पाइँदैन, त्यो त भोलि बस्नका लागि हामी बनाउँछौँ । भोलिका लागि केही नगर्ने हो भने त धर्ती बाँझो हुन्छ, उर्वराहीन हुन्छ । हामी भोलिका लागि बढी गर्छौं, आजका लागिभन्दा । असारका लागि असारमा धान रोपिएको होइन, कात्तिक र मङ्सिरका लागि रोपिएको हो । यो कुरा बुझेर नै हामी हाम्रा नीतिहरुमा अगाडि बढ्छौँ ।

अहिले धेरै विषयहरुमा म जान चाहन्नँ । म दुवै सदनका सबै माननीयज्यूहरुमा समेत र यस सदनमार्फत सम्पूर्ण नेपाली जनतामा पनि दशैको धेरै धेरै शुुभकामना भन्न चाहन्छुु र निकट भविष्यमा दुुई दिनपछि संविधान तथा राष्ट्रिय दिवस आउँदैछ । यो हामी सबै नेपालीका सङ्घर्ष र उपलब्धिहरुको साक्षी हो, प्रतिफल हो र प्रतीक हो । यसकारण यस दिवसको पनि धेरै धेरै शुुभकामना भन्न चाहन्छुु । दसैँ–तिहारको पनि शुुभकामना भन्न चाहन्छु र मलाई बोल्न समय दिनुभएकामा सम्माननीय सभामुखज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको

सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई हस्तान्तरण

काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली

रास्वपाद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव, महाधिवेशन वैशाखमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने भएको

रवि लामिछानेले मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन भन्न मिल्दैनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि