द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्द्वक्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न आह्वान गरेका छन् ।

पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै सभापति देउवाले विगतको द्वन्द्वपछि स्थापना भएको शान्तिलाई दिगो बनाउँदै सबै वर्ग र समुदायका जनताको पूर्ण सहभागितामा समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताए ।

सभापति देउवाले भने, “सबै नेपालीको मर्म र भावना अटाउने संविधानलाई समयसापेक्षा तुल्याउँदै जानुपर्छ । हामी सबै मिलेर डर–त्रास र भयबाट मुक्त समाज बनाउने कार्य गरौँ । त्यसका लागि सरकारले प्रयास गरिरहेको छ ।”

एउटा सभ्य समाजका लागि लोकतन्त्र र मानवअधिकार सबैभन्दा ठूलो विषय रहेको भन्दै उनले वर्तमान संविधान समावेशी भएकाले सबै जातजाति र समुदायका भावनालाई समेटेर अझ राम्रो र साझा बनाउने प्रयास भइरहेको बताए ।

“विगतमा ठूलो द्वन्द्व थियो, धेरै लडाइँ भयो । कसैले जित्ने र हार्ने विषय थिएन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र योगदानका आधारमा वार्ताका माध्यमबाट मुलुकमा शान्ति स्थापना भयो । अब यसलाई दिगो व्यवस्थापन गर्दै उपलब्धिलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो ।

सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरणसमेत हुनु द्वन्द्व व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको बताउँदै उनले विगतका अनुभवसहित मुलुक विकासमा अघि बढिरहेको विचार व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव लेखराज भट्टले मुलुकको राजनीतिक परिवर्तन र समाजमा रहेको अन्याय र अत्याचार अन्त्यका लागि माओवादी सशस्त्र युद्ध भएको बताए ।

उनले भने,“सशस्त्र द्वन्द्वका क्रममा कतिपय स्थानमा चिताउँदै नचिताएका घटना भए, त्यो समय म पार्टीको सेती महाकाली इन्चार्जको जिम्मेवारीमा थिए, अझै पनि त्यस्ता घटनाका पीडितको अवस्था देख्दा मन दुख्छ ।”

युद्धका क्रममा दोहोरो भिडन्तमा क्षति भए पनि व्यक्ति हत्या हुनुहुन्न भन्नेमा आफूहरू सचेत रहेकाले सुदूरपश्चिममा त्यस्ता अप्रिय घटना नभएका स्मरण गर्दै सचिव भट्टले सुदूरपश्चिममा आफ्नै खाले राजनीतिक अभ्यासको इतिहास भएको बताए ।

सङ्गम बुक्स पब्लिकेसन प्रालि प्रकाशक रहेको एक सय ५४ पृष्ठको उक्त पुस्तकमा बिथोलिएको माओवादी आमसभा, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दाेष मारिएका दुई घटना, कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमणलगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धी घटना समेटिएका छन् ।