अब पार्टी एक नम्बरको भएमात्र प्रधानमन्त्री बन्छुः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा हुम्ला जिल्लाको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताएका हुन् । उनले माओवादी नेतृत्वको सरकारको कामबाट आँत्तिएर रातारात अर्को गठबन्धन बनेको आरोप लगाए ।

उनले भने, ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराए र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर, ढाँटेर सरकार गठन गरे ।’

उनले नेपाली जनताको लागि आफूले संसद बैठकमा बोलेको सबै कुरा सत्य भएको बताए । उनले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य बनेका समेत बताए।

उनले भने, ‘अहिले हामी पार्टीको नेतृत्वको सरकारबाट विश्वासको मत लिने क्रममा मैले प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ, त्यो प्रतिनिधिसभालाई मात्र होइन हाम्रो पार्टीका तमाम नेता कार्यक्रता र नेपाली जनतालाई यो देशका सबै उत्पीडित वर्गलाइ, जाती, क्षेत्र, लिंग र समूदायलाई एउटा नयाँ क्रान्तीको लागि गरिएको अपील हो ।’

उनले अब आफूले माओवादीबाट फुटेर गएकाहरुलाई एकठाउँमा ल्याउने बताए । उनले भने, ‘यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ ।’

अध्यक्ष प्रचण्डले ०८४ सम्म जनतामा गएर माओवादीलाई ठूलो पार्टी बनाउने बताए । उनले अब पार्टी एक नम्बरको भएमात्र प्रधानमन्त्री बन्ने बताए ।

उनले भने, ‘पार्टी बनाउने संकल्प मैले लिएको छु । अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न । भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौंला ।’