कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन तथा सुरक्षा लागू गराउन देउवाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनापछि सामाजिक संजालमार्फत सभापति देउवाले हवाई सुरक्षा प्रभावकारी बनाउन र कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन तथा सुरक्षा लागू गराउन आग्रह गरेका हुन् ।

उनले उनले भनेका छन्, ‘सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले निकै मर्माहीत भएको छु। दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रदाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेको स्वास्थ्य लाभको कामना । हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरुको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागु गराउन सरकारसँग अनुरोध गर्दछु।’

बुधबार काठमाडौंबाट पोखराका लागि उडेका सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।