सत्ता परिवर्तनका सन्दर्भमा नेपाल ‘ओलम्पिक गेम’मा पहिलो भयोः सांसद भण्डारी


काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जनताले सरकार छ भन्ने अनुभूति गर्न नपाएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिभा बैठकमा भण्डारीले जनताबाट सरकार धेरै टाढा रहेको बताएका हुन् । उनले ३४ वर्षकोे उपहार बहुदलीय व्यस्था रहेको भन्दै सरकार जनताको नजिक रहन आवश्यक रहेको बताए ।

उनले भने,‘३४ वर्षका हाम्रो उपहार बहुदलीय व्यवस्था हो । यो व्यवस्था हाम्रो उपहार हो । तर यसै व्यवस्थामा ठूलाबडाको कुरा गर्ने तर जनताको नगर्ने परिपाटीको विकास भएको छ । सरकार जनताभन्दा धेरै ठूलो र टाढा भएको अनुभूति भएको छ ।’

सांसद भण्डारीले सत्ता परिवर्तनका सन्दर्भमा नेपाल ‘ओलम्पिक गेम’मा पहिलो भएको र क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो स्थानमा रहेको भन्दै व्यङ्ग्य गरे ।

उनले भने,‘हामी विश्वमा सत्ता परिवर्तनको ओलम्पिक गेममा पहिला छौं । क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो छौं । त्यतिमात्रै होइन, नेपालमा जन्मिने २५ प्रतिशत बच्चाहरु पुड्का र च्याखुरा बच्चा जन्मिन्छन् । यो उपहार विगतबाट प्राप्त गरेका छौं । चुनौतीलाई सरकारले सामना गर्नुपर्ने छ ।’