महानगर र सडक विभागबीचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैनः सांसद गौतम


काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् ।

सोमबारको प्रतिनिधसभा बैठकमा  सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जासपद भएको बताइन् । राज्यका दुई अंगबीच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् ।

‘सभामुख महोदय, अहिले काठमाडौं महानगरपालिका र सडक विभागबीच आरोपप्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय , सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हो ? ‘गौतमले भनिन्, ‘राज्यका दुई अंगबीचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन । स्थानीय सरकार र संघबीच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेको छ । यसतर्फ पनि गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछु ।’