संसद्को अतिरोध अन्त्य गर्न दलका नेता र सांसदहरुले एकजुट भएर पहल गरौंः सांसद शर्मा


 

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुनःउत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनको मार्गमा अगाडि बढ्नुपर्ने आवश्यकता आँैल्याएको बताए ।  भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिनेतर्फ सरकारको नीति तथा कार्यक्रम लक्षित रहेको उनको भनाइ छ ।

देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एकमात्र विकल्प देखापरेको भन्दै उनले राष्ट्रका सामु उत्पपन्न चुनौती सहमति र एकताबाट मात्र सम्भव भएको बताए ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौँ, राजनीतिक दलहरुप्रति जनताका प्रश्न, आक्रोशलाई बेलैमा मनन गरौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वलाई जोड दिएको छ”उनले भने ।

संसद्को अवरोध अन्त्य हुननसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताउँदै उनले यसबाट राष्ट्रमा थप सङ्कट र जनतामा असन्तोष बढ्दै जाने भएकाले संसद्को अतिरोध अन्त्य गर्न दलका नेता र सांसदहरुलाई आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न आग्रह गरे ।