संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि


जनकपुरधाम ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने बताएका छन् ।

शनिबार बिहान जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाएका हुन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उनको भनाइ थियो ।

‘गृहमन्त्री लामिछानेले संसदमा स्पष्टीकरण दिएर मात्र हुँदैन, त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास हो,’ उनले भने । छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याउँदै उनले सांसदहरूले जनसरोकारका विषय सदनमा उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

चितवन, भैरहवा तथा पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिनसमेत गरेको निधिले बताए ।