एमाले लमजुङको अध्यक्षमा विष्ट निर्वाचित


 

 

लमजुङ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटीको नवौं जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरेका थिए । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटीको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए ।

उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटीको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव सुवास पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले दुई सय ४२ मत प्राप्त गरे भने पौडेलले दुई सय ३७ मत प्राप्त गरे ।

त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भएका छन् । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गरे भने मिश्रले एक सय १९ मत प्राप्त गरेका थिए । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले एक सय २९ मत प्राप्त गरे ।

सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भएकी थिइन् । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जना सहभागी भएका थिए । निर्वाचित कमिटीको कार्यकाल तीन वर्षे रहने छ ।