काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवं प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन् ।
मण्डनदेउपुर नगरपालिकाको सातौँ स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको आइतबार उद्घाटन गर्दै उनले संविधानको भावना तथा सङ्घीयताको मर्मअनुरुप हुनेगरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिए । उनले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए ।
“कृषि, पर्यटन र ऊर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ”, राष्ट्रपति पौडेलले भने, “स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरिब, सिमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ ।” उनले त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भए पनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने विश्वास व्यक्त गरे ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँ राज्य संरचना तर्जुमा गरेको बताए । “आज ती सोचहरूले कति साकार रूप लिन गइरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु”, उनले भने ।

प्रतिक्रिया