काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश दुर्गति बनाउनेहरूको भण्डाफोर गर्ने भन्दै विभिन्न भ्रष्टाचार काण्डको सरकारसँग जवाफ माग गरेका छन् । शनिबार साँझ सामाजिक संजालमार्फत सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणदेखि वाइडबडी प्रकरणसम्मको जवाफ माग गरेका हुन् । लामिछाने यी काण्डको सरकारसँग जवाफ माग गरेका छन्ः
जवाफ चाहियो सरकार
-नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?
-ललिता निवास काण्डमा दोषी उम्काउने ?
-सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
-एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ?
-टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ?
-वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
-नारायणघाट –बुटवल, मुग्लिन– पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
-प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन् ।
हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बीच सडकमा गोली हान्ने ?
आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?
आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ । पुत्ला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौं
रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ।

प्रतिक्रिया