घाइतेको उद्धार र उपचार तथा राहतमा कमी हुन नदिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


 

काठमाडौँ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरोकारवाला सबैलाई उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिति थियो ।

बैठकमा गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टोरमार्फत प्रारम्भिक राहत सामग्री पठाइसकिएको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएको उनको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालित भइसकेको छ । सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

गए राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पुर्याएको छ ।

बैठकमा जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० घाइते, पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएका जानकारी नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताले जानकारी गराएका थिए । नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायत र सशस्त्र प्रहरीका राजेन्द्र खड्काले भौतिक क्षतिको विवरण भने यकिन भैनसकेको बताए ।