विदेशी दासताको जन्जिर तोडेर मुलुकलाई राप्रपाले नेतृत्व गर्ने खड्काको दाबी


धुलिखेल । राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक महामन्त्री विजय खड्काले आगामी ८४ सालमा राप्रपाले बहुमत  ल्याएर अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

सोमबार पार्टीको काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश क को अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै खड्काले गणतन्त्रको १७ वर्ष यो मुलुकको सवैभन्दा खराव समय भएको भन्दै अब दलीय र विदेशी दासताको जन्जिर तोडेर मुलुकलाई राप्रपाले नेतृत्व दिने बताएका हुन् । काग्रेस, एमाले, माओवादी, रास्वपा सबै एउटै सिक्को दुई पाटा भएको उनले बताए ।

मुलुकले थेग्न नसक्ने विदेशीले भारी बोकाएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता फ्याँकेर मौलिक नेपाली माटोको उपज राजसंस्था, हिन्दूराष्ट्रको स्थापना र संघीयताको खारेजीको जगमा स्वाधीन र समृद्ध नेपाल निर्माण गर्ने राप्रपाले सङ्कल्प लिएको उनले बताए । उनले मुलुक अव तिव्र ध्रुवीकरण तर्फ अगाडि बढेको उल्लेख गर्दै मुलुकमा धर्म संस्कृति, राष्ट्रियताको विरूद्ध लाग्ने अतिवादलाई राप्रपाको प्रदर्शन र राजाको लोकप्रियताले दह्रो झापड दिएको बताए ।

उनले प्रवास क्षेत्रमा समेत राप्रपा सवैभन्दा लोकप्रिय पार्टी रहेको दावी गर्दै सवै ६० लाख प्रवासी नेपालीले मताधिकार पाए राप्रपा पहिलो पार्टी बन्ने दाबी गरे ।

कार्यक्रममा भूगोल केन्द्रित जिम्मेवारीमा रहेका राप्रपा केन्द्रीय सदस्यहरू उदय सिंह मुस्याजु, रामहरि थापा, सरस्वती अधिकारी, श्रीकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठ, धुलिखेलका निर्वाचित वडा अध्यक्ष रोमी व्याञ्जुलगायतले सम्बोधन गरेका थिए । अधिवेशनले उद्ववराज गिरीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको छ । कार्यक्रमको संचालन राप्रपा नेता रञ्जिव श्रेष्ठले गरेका थिए ।