प्रधानमन्त्री पत्नीको निधनप्रति समाजवादी मोर्चा स्तब्ध


काठमाडौं । समाजवादी मोर्चा नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीताको निधनप्रति स्तब्ध रहेको जनाएको छ । बुधबार शोक वक्तव्य जारी गर्दै मोर्चाले दाहालप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

“कमरेड सीता कम्युनिष्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँ सधैँ कर्तव्यनिष्ठ र वर्गपक्षधर रहनुभयो”, वक्तव्य भनिएको छ, “राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलितरूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो ।”

दिवङ्गत सीताले नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभई आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र सङ्गठित गर्न पनि मद्दत पुर्याएको स्मरण गर्दै मोर्चाले दाहालको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्ने जनाएको छ ।

प्रधानमन्त्री पत्नी एवं नेकपा(माओवादी केन्द्र)का सल्लाहकार दाहाललको बुधबार बिहान ६९ वर्षको उमेरमा निधन भएको थियो ।