कोशी प्रदेशसभाको अधिवेशन अन्त्य


विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गरेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले बुधबार बेलुका अधिवेशन अन्त्य गरेका छन् ।

अल्पमतमा रहेको एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी सरकारले नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकबाट चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

प्रदेशसभा अधिवेशन अन्त्य भएपछि अब सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी भएको । कानुनी व्यवस्थाअनुसार असार १ भित्र सरकारले बजेट ल्याउनै पर्छ । नीति तथा कार्यक्रम पारित नभए सरकार ढल्ने भएकाले नीति तथा कार्यक्रम नै पारित नगरी संसद अधिवेशन अन्त्य गरिएकाले अब सरकारको आयु के हुने भन्नेबारे अन्योल भएको छ ।