काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्ने बताए ।
उनले विगतमा सभामुखबाट दल फुटाउने भूमिका खेलेको भन्दै अबको सभामुखबाट कुनैपनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताए । उनले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भूमिका निभाई निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने बताए ।
उनले भने, ‘सभामुख र उपसभामुख सिंगो हलको रेफ्री हो । दायाँ र बायाँको बीचको आसन हो । त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस् । सिधा नजर लगाउनुस् । दुई वटा आँखा दुईतिर लगाउनुस् ।’

प्रतिक्रिया