काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन् । भक्तपुरको बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी ओली निवासमा सोमबार बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा यस्तो सहमति भएको भेटपछि बाहिरने क्रममा प्रधानमन्त्री दाहालले बताएका हुन् ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको छ । प्रधानमन्त्रीले भने, “सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्छ ।”
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, “विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ ।”
सभामुखको निर्वाचनकाबारेमा पनि भोलिको छलफलमा निष्कर्षमा पुगिने सङ्केत उनले गरे । आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउनेबारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री दाहालले सङ्केत गरे ।

प्रतिक्रिया