एमालेलाई सिध्याउने दुस्प्रयास सफल भएनः महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार गठनपछि शेयर बजारमा सकारात्मक परिवर्तन आएको भन्दै यसबाट मुलुकलाई आर्थिक सङ्कटबाट कसैले जोगाउन सक्छ भने यही सरकारले सक्छ भन्ने सन्देश दिएको बताएका छन् ।

नेकपा (एमाले) पाल्पा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यसबाट विगतको पाँचदलीय गठबन्धन कति नालायक रहेछ भन्ने सन्देश दिएको बताए ।

महासचिव पोखरेलले आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँचदलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने रहेको बताए । नेपालमा कम्युुनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यका साथ विगतमा पटक पटक एमालेलाई सिध्याउने दुस्प्रयास भए पनि त्यो सफल नभएको उनको भनाई थियो ।

पछिल्लो घटनाक्रमलाई हेर्दा पनि नेकपालाई विभाजन गरी नेपाली काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जनताले परिणामबाटै दक्षिणपन्थीसँग मिल्ने होइन भन्ने सन्देश दिएको बताए ।

महासचिव पोखरेलले माओवादी केन्द्रलाई जनताले २०७४ सालमा एमालेसँगको गठबन्धनमा प्राप्त गरेको विजयभन्दा यसपाली आधा सिटमा सीमित गरिदिएका र एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न लायक छैनौं भनिदिएको बताए ।