आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएकी छन् ।
जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको बिहीबार उद्घाटन गर्दै उनले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दीगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन् ।
उनले भनिन्, “आजको प्रतिस्पर्धी युगमा उत्पादनको विविधीकरण र उपभोक्ताको रुचिलाई ध्यानमा दिएर गुणस्तरीय उत्पादनसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली उत्पादनमार्फत विश्व बजारबाट लाभ हासिल गर्न सकिन्थ्यो, त्यसैले स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक छ ।”
नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन जुत्ता चप्पल उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले सरकार र निजी क्षेत्रबीच साझेदारीता अभिवृद्धिका साथ नेपाली उत्पादन प्रवद्र्धन र निर्यातमा मेला उपयोगी हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले विशेष ध्यान पुर्याउनुपर्ने बताइन् ।
“नेपालको आर्थिक विकास गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौँ । ती क्षेत्रमा लगानी बढाउन र सहजीकरण गर्न उद्योगमैत्री नीति बनाएर निजी क्षेत्र र सरकारबीच उच्चस्तरको समझदारीका साथ मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन जरुरी छ”, उनले भनिन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले देशको महत्वपूर्ण जुत्ता चप्पल उद्योगको आत्मनिर्भरताका साथै निर्यातमा पनि राम्रो सम्भावना रहेको भन्दै यस व्यवसायमा आबद्ध व्यवसायीको प्रोत्साहनका लागि आवश्यक सहजीकरण गरिनुपर्नेमा जोड दिए ।
उनले अहिले चुनौतीमा रहेको अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य जरुरी रहेको उल्लेख गरे ।
नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित तीन दिनसम्म सञ्चालन हुने मेलामा ९० स्वदेशी र ४० विदेशीसहित एक सय ३० स्टल रहेका छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ ।
स्वदेशी तथा विदेशी कच्चापदार्थ उत्पादक, क्रेता र डिलरहरूलाई एकै थलोबाट वर्तमान जुत्ता चप्पल उत्पादनका गुणस्तर अभिवृद्धि र नयाँ प्रविधि र पद्धतिबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको सङ्घका अध्यक्ष ननीराज घिमिरेले बताए ।