निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आयोगले आज राष्ट्रपतिलाई बुझाउँदै


काठमाडौं । बुधबार समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेको निर्वाचन आयोगले आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ ।

आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

सोही बमोजिम आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित हुनुभएको छ । जसमा प्रतिनिधिसभातर्फ पुरुष एक सय ८४ जना र महिला ९१ जना निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ पुरुष तीन सय ५० जना र महिला दुई सय जना निर्वाचित भएका छन् ।