घनश्याम भुसाल एमालेबाट निस्कासित


काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ ।

चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।