प्राप्त जनादेशको सम्मान गर्दै अघि बढ्छौंः उपाध्यक्ष पौडेल


बुटवल ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले सोमबार बिहान बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे ।

उनले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेशसभाहरुमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘यस पटकको निर्वाचनमा नेकपा एमालेले यो आत्मविश्वासका साथ गएको होकि एजेण्डाको दृष्टिकोणले, देशलाई अघि बढाउने एजेण्डाको दृष्टिकोणले जनताका, राष्ट्रका समस्यालाई समाधान दिने दृष्टिकोणले हामीले उठाएको महत्वपूर्ण मुद्दा राजनीतिक स्थायित्वको मुद्दा थियो । राजनीतिक स्थायित्वका लागि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने मुद्दा थियो । तर, आज यतिबेलासम्म आईपुग्दा हामीलाई बहुमत प्र्र्र्राप्त गर्न सम्भव भएन । हामी यो प्रकट भएको जनादेशलाई सम्मान गर्छौ । त्यसलाई स्वीकार गछौं । र, त्यस अनुरुप अघि बढछौं । एउटा सत्य के हो भने फेरि पनि नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढ्न सक्दैन ।’

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आममतदाताको सम्मान गर्दै उनीहरुको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।