चितवन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बबताएका छन् ।
गोरखापत्र संस्थानले शुक्रबार आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताएका हुन् । थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे ।
“हामी सबैले आफ्नो इमान्दारिता कायम गरौँ, निर्वाचन आचारसंहिताको कहीँकतै उल्लङ्घन नहोस्, उल्लङ्घनका समाचार बाहिर आउन्, नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस्”, प्रमुख आयुक्त थपलियाले भने, “पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस्, सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।”
उनले मतदानका दिन र मतगणनाको समाचार प्रवाह गर्दा प्रवद्र्धनात्मक तथा मतदातालाई तथ्य जाँचसहित सही सूचना दिनुपर्नेमा जोड दिए । प्रमुख आयुक्त थपलियाले आयोगले दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैङ्गिक तथा अपाङ्गतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सुक्ष्मरूपमा रिपोर्टिङ हुनुपर्ने बताए ।

प्रतिक्रिया