राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छन् । ६ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी सोमवार साँझ आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ को कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणमा निस्किएकी हुन् ।

राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए । राष्ट्रपति आइसल्याण्ड प्रस्थानअघि उनलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने बताइएको छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।