मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छः अध्यक्ष यादव


राजविराज । जनता समाजवादी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार सप्तरीको राजविराज नगरपालिका–२ को राजदेवी टोलस्थित राजदेवी पोखडी महाड बस्तीमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसके अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने बताए ।

उनले अहिले पनि आफू मधेसलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसङ्ख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए । अध्यक्ष यादवले भने “मधेस विद्रोहलगायत त्यसका पूरक आन्दोलनले मधेसीलाई अधिकार त दिलायो तर अझै पनि शासन प्रणालीमा सुधार, समान अवसरको प्राप्ति र मधेसमा विकासका लागि सङ्घर्षको आवश्यकता छ ।”

सङ्घीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेसमा जनसङ्ख्याको अनुपातमा बजेट नदिइने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेसमा १८ प्रतिशत मात्र लगानी भइरहेको जानकारी दिए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका यादवले मुलुकमा सात प्रदेशमध्ये पहिचानका आधारमा एक मात्र मधेस प्रदेश बन्नु लागि गौरवको विषय रहेको बताए ।

सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हवको रूपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इञ्जिनीयरिङ कलेज, कृषि विश्व विद्यालय, नर्सिङ कलेजलगायत काम पूरा भएपछि जिल्लामा विकासले गति लिने दावी गरे ।