एमालेको चुनावी गठबन्धन गन्तव्यविहीन सत्ता स्वार्थको माध्यम मात्र भएको पुष्टि भयोः भीम रावल


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एमालेको घोषणापत्र नीतिविहीन रहेको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत रावलले कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि नगर्ने बताएका हुन् ।

उनले भनेका छन्,‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’

त्यस्तै रावलले थप लेखेका छन्, ‘एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपाको प्रतिवेदनमा २०७४ को निर्वाचनबारे यस्तो लेखिएको रहेछ,“निर्वाचनले पार्टीलाई पर्याप्त बहुमत दिएर आर्थिक क्रान्तिको ढोका खोल्ने अवसर प्रदान गरेको छ”(पृष्ठ २४)। “निर्वाचनबाट जनताले स्थीर सरकार मार्फत राजनीतिक स्थायित्वको पक्षमा जनादेश दिएका छन् । हाम्रो सरकारले पूरा अवधि मुलुकको नेतृत्व गर्ने छ”(पृष्ठ २४)।