सुदूरपश्चिमका एमालेका पाँच बागी उम्मेदवार पार्टीबाट निस्कासित


धनगढी । नेकपा एमालेले सुदूरपश्चिममा बागी उम्मेदवारी दिएका पाँच जनालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु टेकबहादुर हमाल र खेम सुवेदीसहित पाँच जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।

सुदूरपश्चित प्रदेश कमिटीका सचिव धर्मराज पाठकले पार्टीको केन्द्रीय निर्दशन अनुसार पार्टीलाई कमजोर पार्ने उद्धेश्यले स्वतन्त्र उम्मेदवारी दिने पाँच जनालाई कारबाही गरिएको जानकारी दिए ।

उनका अनुसार हमाल र सुवेदीसहित भक्तबहादुर अधिकारी, विजयसिंह मयाल र टेकबहादुर साउद कारबाहीमा परेका हुन् ।

पार्टीले टिकट नदिएपछि टेकबहादुर हमालले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सुवेदीले कञ्चनपुर निर्वाचन क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यस्तै अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।