समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यकः उपमहासचिव गुरुङ


काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देश विकासको नेतृत्व एमालेबाट मात्र सम्भव रहको बताए ।

नेकपा (एमाले) को तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए । “समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ”, उनले भने । उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाए ।